अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदीले यस पटक एमाले नेता विनोद ढकालसँग कडा प्रतिस्पर्धा गर्दैछन् ।
एमाले नेता ढकाल अहिलेसम्म राजकीय पदमा नपुगेका नेता हुन् । ढकाल ०६४ सालमा मोरङको तत्कालीन क्षेत्र नम्बर ७ बाट उपनिर्वाचन लडेपनि पराजित बनेका थिए । यस्तै ०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका ढकाल काँग्रेसका भीम पराजुलीसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।
यस्तै महेन्द्र मोरङ क्याम्पसमा दुईपटक स्ववियु सभापतिमा लड्दा पनि ढकालले विजयको स्वाद चाख्न सकेनन् । ढकाल २०४९ र २०५१ मा भएको स्ववियु निर्वाचनमा पराजित बनेका थिए । मोदीले भने अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए ।
काँग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेदवार बनेका मोदी त्यही काँग्रेसभित्रको अन्तरविरोधका कारण विजयी बनेका थिए । थारु, राजवंशीहरुको बाहुल्य क्षेत्र रहेको कारण पनि मोदीलाई निर्वाचन जित्न सहज भएको थियो । उक्त क्षेत्रमा माओवादी केन्द्रको संठनात्मक आधार कमजोर रहेको गत स्थानीय तहको निर्वाचनले पनि देखाउँछ । त्यसको तुलनामा नेकपा एमालेको संठनात्मक आधार बलियो छ । एमालेले उक्त क्षेत्रमा रहेका २३ वडामध्ये १८ वटा वडामा एमालेले अध्यक्ष जितेको छ । यस्तै काँग्रेसले ३, माओवादी र जसपाले एक एक वडाध्यक्ष जितेको छ । यस्तै पालिकामा विराटनगर महानगरपालिका, कटहरी र ग्रामथान गाउँपालिकाका प्रमुख तथा अध्यक्ष काँग्रेस विजयी हुँदा बेलबारीको प्रमुखमा भने एमालेले जित हात पारेको छ ।