नक्कली परीक्षार्थी पक्राउ प्रकरणमा मेयर कानुको प्रस्टोक्ति– म परीक्षार्थी नै होइन

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफू एसईई परीक्षाको परीक्षार्थी नै नरहेको प्रस्ट पारेका छन् । उनको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको समाचार प्रकाशमा आएपछि उनले विज्ञप्ति जारी गर्दै आफूविरुद्ध कसैले षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

जननिर्वाचित पदाधिकारीलाई शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक नपर्ने भन्दै उनले आफूले एसईई परीक्षाको फारमसमेत नभरेको दाबी गरेका छन् ।

आफ्नो चरित्र हत्या गर्ने तथा झुटा मुद्दामा फसाउने उद्देश्यले कसैले अवाञ्छित क्रियाकलाप गरेको हुन सक्ने भन्दै उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन् ।उल्लेखनीय छ, आइतबार प्रेमलाल साह कानुको नाममा परीक्षा दिइरहेको अवस्थामा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरीले जनाएको थियो ।