नक्कली नोटसहित धनुषामा एक महिला पक्राउ

धनुषामा ७ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । ७ लाख ७१ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका-६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ ।

जनकपुरधाममा रहेकाे जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला जाँच गर्दा नक्कली नोटहरु बरामद भएको हो ।

महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय रुपैयाँ, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो । उहाँले नक्कली नोट १ लाख बराबर ७ लाख सटही गरी ल्याएको  महिलाले सोधपुछका क्रममा बताएकी जानकारी दिनुभयाे।

महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ।

 

Share your love