धनुषामा शुक्रबार एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार भएको छ । जिल्लाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको हो । महतोमाथि पाँच जनाको समूहले पैसा मागेका थिए । महतोले पैसा नदिएपछि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।
महतोसँग सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीको दावी छ । छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
घटनामा संलग्न भएको आरोपमा निरज लामा, रितेश लामा र किसन लामालाई पक्राउ गरी थप अनुसन्धान थालिएको गौतमले बताए । दुईजनाको खोजी भइरहेको उनले बताए ।