जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर विद्यार्धीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ३७ राउन्ड हवाई फायर गरेको समेत गरेकाे छ ।
हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन । ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
हिजो बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
घटनाले बृहत रूप लिएपछि हिजो साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञाकै बीचमा अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ । विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल जारी रहेकाे छ ।