धनकुटामा चलिरहेको महोत्सवमा अत्यधिक भीड बढेपछि च्यापिएर कम्तिमा १३ जना मानिस घाइते भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार घटनामा दुई जना गम्भीर घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
पूर्व प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठका अनुसार टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर मानिसहरु घाइते भएका हुन् । उनका अनुसार घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । गम्भीर घाइते बाहेकको धनकुटा अस्पतालमै उपचार भइरहेको छ । मेला गत माघ ६ गते उद्घाटन भएको थियो । उक्त मेला १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो । धेरै सङ्ख्यामा मानिसहरू घाइते भएसँगै महोत्सव स्थगित गरिएको छ ।