‘देशको राष्ट्रपति को हुन्छ हामीले विदेशीको ट्वीटमा हेर्नुपर्ने?’

नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको स्वाभिमानमाथि विदेशीको सक्रियता बढेको बताएका छन्। सांसद् पन्तले संसद्मा बोल्दै नेपालको राष्ट्रपति को हुने विदेशीका ट्वीटमा हेर्नुपर्ने भन्दै सरकारलाई कटाक्ष गरेका छन्।

सांसद् पन्तले भने, ‘नेपाल कहिलै पनि पराधिन नभएको देश हो। हाम्रो देशको राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा प्रोफेसरले हाम्रा पूर्वराजदुतको नाम, पूर्वसभामुखको नाम यी व्यक्ति उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ, कस्तो दिन आयो। यो देशका राष्ट्रपतिको नाम विदेशीका ट्वीटमा हेर्नुपर्ने ? भारतीय सचिवले सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ, यस्तो किन हुन्छ। विदेशीहरूको भेटघाटलाई नियमन गर्ने भनियो। तर, कहिलैपनि भएन।’

राष्ट्रपतिको चुनाव अगाडी भारतीय विदेशसचिव आएर प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, परराष्ट्र मन्त्री, परराष्ट्र सचिवलाई भेट्ने गरेको बताए। पन्तले भने, ‘म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु यो राष्ट्रिय सम्मानको कुरा हो, हाम्रो विदेशसचिव जाँदा यही ढंगको सम्मान पाउँछ।’