देउवा, प्रचण्ड र माधव नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्राे हाे भन्न सकेनन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर त्याे भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताउनुभयो ।

आज सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने त्याे जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘एक सय ४६ वर्षदेखि हामीले भाेगचलन गरेकाे जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरूले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो र हामीले नक्सा जारी गर्‍याैँ । म सुन्छु– यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौँ । त्यत्ति पनि भन्न नपाउने ? त्यस्तो पनि हुन्छ ? त्यस कारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । अहिलेकाे गठबन्धनले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्राे हाे भनेर भन्न सक्छन्, बोल्न सक्छन् ? म शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमारलाई साेध्न चाहन्छु– लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? उहाँहरू बोल्नुहुन्न । कसको हो लिम्पियाधुरा, लिपुलेक, कालापानी ?’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरू आफ्ना छोरी–बुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको आराेप लगाउनुभयाे । सत्तारूढ गठबन्धनले राजनीतिलाई दुस्मनीको विषय बनाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । देशलाई बरबादी हुनबाट बचाउन आउँदाे चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँकाे जिकिर छ ।

 

Share your love