
दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा तनाव कम भएसँगै पुलमा आवतजावत पनि सुरु
दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएपछि आज साेमवार बिहानसम्म बन्द भएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत सुरु भएको छ ।
भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई निरन्तरता दिएपछि हिजो साेमवार सदरमुकाम खलङ्गाका स्थानीयवासीले विरोध गरेका थिए । विरोधका क्रममा भारतीय पक्षले ढुङ्गा हानेपछि तनाव सृजना भएको थियो । तनावका कारण हिजैदेखि पुलमा आवतजावतसमेत बन्द गरिएको थियो ।
भारतीय पक्षले बन्द गराएको पुल खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । हिजो बेलुका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो ।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै उनीहरूले निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।