रीता तिमल्सिनाले असनमा जुत्ता पसल राखेको झण्डै २२ वर्ष भयो । यसबीचमा उहाँले व्यापारमा थुप्रै उतारचढाव देख्नु भएको छ । अहिले पनि उहाँको पसल अगाडि बाटोमा ओहोरदोहोर गर्ने मानिसको भिड छ । तर, पसलमा भने फाट्टफुट्ट ग्राहक आउँछन् त्यो पनि महँगो भयो भनेर हिँड्छन् ।
पसल अगाडि मानिसको चहलपहल हेर्दै बस्नु भएकी तिमल्सिना अहिले दशैँको समय भए पनि व्यापार ठिकठिकै भएको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘व्यापार छैन । पसल अगाडि बस्यो मान्छे हेर्यो यस्तै छ ।’
‘कहिले बिहान, कहिले बेलुका अलि अलि हुन्छ । कहिले दुई/तीन दनै पनि व्यापार हुँदैन’ तिमल्सिना भन्नुहुन्छ, ‘दशैँ आयो भन्छन सबैले तर, व्यापार भने दशैँको जस्तो छैन । बजारमा चहलपहल भए अनुसारको व्यापार छैन ।’
व्यापार नहुनुमा कोरोना, आर्थिक मन्दी अनि मानिससँग पैसा नहुनुसँगै अहिले नगरपालिकाले बाहिर राख्न नदिनु पनि अर्को कारण हो जस्तो लाग्छ उहाँलाई । उहाँ भन्नुहुन्छ, ‘मानिससँग पैसा पनि नभएर होला व्यापार एकदमै कम छ । फेरि नगरपालिकाले बाहिर पसल राख्न दिँदैन । बाहिर खाट राख्न दिएको छैन । त्यसैले पनि व्यापार कम भएको छ ।’
पहिले दशैँको समयमा दैनिक २५/३० हजार रुपैयाँको व्यापार हुने गरे पनि अहिले भने १५/२० हजार रुपैयाँको व्यापार हुने उहाँ बताउनुहुन्छ ।
बनेपाका उद्धव चौलागाईँ कारखाना चलाउनुहुन्छ र असनको बजारमा सामान पुर्याउन आउनु भएको छ । तर, दशैँको समयमा पनि व्यापारीले पैसा नदिएर भोलि आउनुस् भन्दा ल भन्नु न नाइँ भन्नुको स्थिति रहेको बताउनुहुन्छ चौलागाईँ । उहाँ भन्नुहुन्छ, ‘व्यापारीसँग मात्र नभएर अहिले अरुसँग पनि पैसा छैन । त्यसैले गाह्रो छ ।’
अहिले बैँकले पनि ऋण नदिने, सहकारीले पनि पैसा छैन भन्ने हुँदा सामान्य मानिसहरुसँग पैसा नभएको बताउनुहुन्छ तिमल्सिना । उहाँ भन्नुहुन्छ, ‘हामीले दशैँ, तिहार र तीजमा २/३ लाख रुपैयाँको व्यापार गथ्यौँ । तर, अहिले व्यापार नै छैन । अहिले नभए भोलि होला भन्ने आशा छ ।’
इलामका याम राई दशैँका सामान किन्न असन/इन्द्रचोक घुमिरहनु भएको छ । सेल्सम्यानको रुपमा काम पनि गर्ने हुनाले उहाँ आफूलाई बजारमा भएको महँगी र ग्राहकसँग पैसा नभएको कुराको राम्रो अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘गएको दशैँको तुलनामा महँगी धेरै बढेको छ । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा कायम राख्ने भनेको थियो । तर, अहिले १२ प्रतिशतले बढेको छ ।’
‘ग्राहकहरु पसलमा आएर सबैभन्दा सस्तो सामान खोज्छन् । त्यसमा पनि सय/पचास रुपैयाँका लागि पनि धेरै नै मोलतोल हुन्छ । मानिससँग पैसा भएको भए त्यति थोरै पैसाका लागि त्यति मोलतोल हुन्नथ्यो,’ उहाँ भन्नुहुन्छ ।
असनलाई विशेष गरी परम्परागत बजारका रुपमा चिनिन्छ । नुनदेखि सुनसम्म पाइने मौलिक बजारका रुपमा चिनिने असनमा पूजा सामग्री, भाँडावर्तन, भाइ मसला तथा मरमसला, बिरेनुन, मरिच, टिमुर, जिम्मु, ढिके नुनजस्ता पुराना चलनचल्तीका सामानका लागि अहिले पनि असन अहिले पनि सबैको रोजाइमा पर्ने गरेको छ । अहिले फुटपाथका पसल तथा असन चोकैमा रहेको टहरो हटेपछि असन सुन्दर तथा सहज पनि बनेको छ ।
विशेष गरी दशैँको समय भनेको लत्ताकपडा र मरमसलाको व्यापार हुने समय हो । तर, दशैँमा टीकाटालो गर्दा र मान्यजनकहाँ जाँदा काजु, बदाम जस्ता मसला लैजाने चलन पनि छ । असनमा ५/६ पुस्तादेखि पुस्तैनी भाइ मसलाको व्यापार गर्दै आउनु भएका राजुकाजी तुलाधर भन्नुहुन्छ, ‘हाम्रोमा खास दशैँमा व्यापार त्यस्तो हुने त होइन । तर, पहिले जति हुन्थ्यो त्यो भने छैन ।’
पहिले पहिले भने जिरा, मरिच जस्ता मसला लिन पनि मानिस असनमा आउने हुनाले व्यापार धेरै हुन्थ्यो । तर, अहिले भने यस्ता मरमसला अन्यत्र पनि सुलभ रुपमा पाइने हुनाले पनि व्यापार नभएको उहाँको अनुभव छ । तुलाधर भन्नुहुन्छ, ‘पहिले पहिले यहाँ बसपार्क हुँदा गाउँ जानेहरु यहाँ सामान किनेर जान्थे र राम्रो व्यापार हुन्थ्यो । अब त्यो समय छैन । सबैतिर पाइन्छ । तर, यहाँ अरु साथीहरु पनि यसपटक दशैँमा व्यापार कमै भएको भन्नुहुन्छ ।’
पहिले पहिले राम्रो जिरा किन्न पनि असनमा आउनुपर्ने बाध्यता भएका कारण असनका मरमसला पसलको व्यापार राम्रो हुने गरेको बताउनुहुन्छ तुलाधर । उहाँ भन्नुहुन्छ, ‘अहिले यहाँ जिरा किलोको ५ सय ३० रुपैयाँ छ । अब गाउँमा अलि महँगो भएर ५ सय ५० रुपैयाँ नै भए पनि यहाँ किन्न को आउँछ र ।’