निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ मा निर्वाचन खर्चको हद तोक्ने आयोगले तोक्न सक्ने व्यवस्था रहेको छ। उक्त दफाको उपदफा १ मा आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्नेछ भनिएको छ दफा २ मा आयोगले उपदफा १ बमोजिम अधिकतम हद तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने उल्लेख छ। यस्तै उपदफा ३ मा निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले उपदफा १ बमोजिम तोकिएको अधिकतम हदभन्दा बढी हुने गरी निर्वाचन खर्च गर्नु वा गराउनु हुँदैन भनिएको छ।
सोही ऐनको दफा २५ मा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको विल भर्पाइसहित आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ उल्लेख छ। आयोगले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने कूल एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँसम्मको जरिवानासहित कारबाही गरेको छ।