तीजको दर कार्यक्रममा महिला कैदीबन्दीको रुवाबासी

शुक्रबार बिहान मोरङ कारागारको महिला कक्षमा उच्च अदालत विराटनगर बार एसोसिएशन महिला समितिले कैदीबन्दी महिलासँग तीजको दर खाने कार्यक्रम राखेको थियो । दर खानका लागि भेला भएका कैदीबन्दीलाई प्रमुख जिल्ला अधिकारी  विरेन्द्रकुमार यादवले समस्या भए केही राख्न आग्रह गरे ।

सुरुमा  कैदीबन्दीले बोल्न संकोच माने । पूर्वसांसद कैदी गुलेफुन खातुनले सुत्न नपाउने र पानी पनि खान नपाउने गुनासो गरेपछि अन्य कैदीबन्दीले रुदै समस्या सुनाए । समस्या सुनाएपछि प्रमुख जिल्ला अधिकारी यादवले तपाईका कुरा नोटिस भयो भन्दै फर्किए ।

कोशी  प्रदेशसभाकी पूर्वसांसद खातुनले कारागारमा सुत्न नपाउने र खानेपानीको सुविधा पनि नभएको बताइन् । त्यति हुँदाहुँदै पनि हुने खानेका लागि कारागार राम्रो भएको उनले बताइन् ।  ‘यहाँ हुने खानेहरुका लागि कारागार राम्रो छ,’ उनले भनिन्,‘ नहुनेहरुका लागि  कारागार धेरै गाह्रो छ ।’

अर्की महिला कैदीले राति सुत्न नपाएको गुनासो गरिन् । ‘यहाँ भित्र धेरै गाह्रो छ, खानेपानीको फिल्टर छैन, फिल्टर बनाएको पनि एक-दुई महिना मात्रै चल्यो,’ कैदी सरिता राईले भक्कानिदै गुनासो सुनाइन्, ‘सुत्ने ठाउँ पाइदैन, प्यासेज हिड्ने ठाउँमा दुई जना सुत्नुपर्छ, आज रातभरी मैले सुत्न पाइन ।’

सवारी ज्यान मुद्दामा कारागारमा रहेकी शान्ति कुमारी मुखियाले कारागारभित्र बाच्नलाई निकै गाह्रो भएको बताइन् । ‘मेरो बालबच्चा घरमा सानै छन्, यहाँ बस्न निकै गाह्रो छ,’ उनले भनिन् ।

छोरा निकाल्न आमाको हारगुहार

मानव बेचबिखन मुद्दामा धरानकी ३५ वर्षीया गंगाकुमारी खड्का मोरङ कारागारमा छिन् । उनका श्रीमान् पनि कारागारमा छन् । शुक्रबार  उच्च बारको निम्तोमा दर खान पुगेका कानुन व्यावसायी, न्यायाधीश, प्रमुख जिल्ला अधिकारीसमक्ष उनले रुदै आफ्नो छोरोको उद्दार गरिदिन आग्रह गरिन् ।

खड्काको साथमा पाँच वर्षको छोरा छन् ।  उनको स्कुल जाने उमेर भयो । तर, जिम्मा लिने मान्छे नभएका कारण आमासँगै  छन् । उनका श्रीमान केदार खड्का झुम्का कारागारमा छन् । केदारकी उनी कान्छी श्रीमती हुन् । छोरालाई लैजान भन्दै उनले श्रीमानकी जेठी श्रीमतीसँग हारगुहार पनि गरेकी थिइन् । तर, उनले  उल्टै तथानाम गाली गरिन् ।

उनका अनुसार  छोरो जन्मदर्ता पनि बनेको छैन । कारगारमै हुँदा छोरो बिग्रिने भएकाले बाहिर निकाल्नका लागि रुदै हारगुहार गरेकी हुन् ।

‘मेरो छोरा यहीँ छ, अरुले कुट्छन्, पिटछ्न्, छेउमै बसेर चुरोट खाइदिन्छन्,’ उनले भनिन्,‘ परिवारले मेरो छोरालाई लगेनन्, मेरो बिन्ती छ, लगेर आश्रममै भए पनि राखीदिनुहोस् ।’

कैदीबन्दीको भिडबाट हात जोडेर रुदै विलौना गरिरदा उनको बालख छोरा छेउमै थिए । मोरङ कारागारभित्र खैनी चुरोट लैजान पाइदैन । तर, कारागार भित्र चौकीदार, नाइके, भाइनाइके र आसेपासेलाई लैजान र खान छुट छ । अरुले पनि पाउँछन् तर महंगो मुल्यमा छ । छोराको अगाडि अरुले चुरोट खादा छोराले पनि सिक्छ कि भन्ने डर उनीसँग छ ।

कैदीबन्दीले रुदै समस्या सुनाएपछि आयोजकले औपचारिक कार्यक्रम छोट्याएर दर खाने कार्यक्रम सुरु गरेका थिए ।

कैदीबन्दीको समस्या सुनेपछि मोरङका प्रमुख जिल्ला अधिकारी  यादवले समस्या सामधानका लागि पहल गर्ने बताए ।  नयाँ  भवन निर्माण भइरहेका कारण भवन बनेपछि बस्नका लागि सहज हुने उनले बताए  ।

महिला ५० र पुरुष २७५ गरी तीन सय क्षमता रहेको  कारागारमा एक हजार  ५५ जना कैदीबन्दी  छन् । ती मध्ये ९४८  पुरुष र १०२ महिला छन् । पाँच जना नाबालक पनि कारागारमा छन् ।

जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसी पौडेलका अनुसार  गंगाकुमारीले गुनासो गरेपछि  उनका आफन्तलाई  कारागार बोलाइएको छ । ‘उहाँको बच्चालाई घरमा पठाउन अलिक समस्या रहेछ,  सिडिओसा’बको निर्देशनपछि आफन्तलाई बोलाएका छौं,’उनले भने,‘ उहाँका श्रीमान पनि कारागारमा  हुनुहुन्छ ।’

स्कुल जाने उमेर भएका कारण  सम्भव भए आफन्तलाई जिम्मा लगाउने उनले बताए  ।