राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले भूमिहीन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थाका लागि वन कार्यालयहरूले अनावश्यक बखेडा झिक्ने गरे पनि भूमिहीनहरूको जग्गा प्राप्तिको लागि विचलित नभई काम अगाडि बढ्ने बताएका छन् ।
पर्साको पर्सागढी नगरपालिकाको वडनिहारमा बुधवार राष्ट्रिय भूमि अधिकार मञ्चको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सुकुम्वासीहरूको लागि लालपुर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको भन्दै नापी कार्यालय पनि लालपुर्जा वितरणमा बाधक बनेको बताए ।
मञ्चका जिल्ला अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश अध्यक्ष मदन विश्वकर्मा, सचिव अनुप माझी, रौतहट अध्यक्ष चन्द्रमान थिङ्ग, पर्सागढी नगरपालिका – ३ का वडाध्यक्ष सुकमान थिङ लगायतको उपस्थिति रहेको थियो ।