अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ । आज साेमवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले देशको पछिल्लो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा देशको अर्थतन्त्र बिग्रँदै गएको उहाँको बुझाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका अर्थविद् डा. पोखरेलले देशको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताउनुभयो ।
नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उहाँले दाबी गर्नुभयो ।अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताउनुभयो ।