तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ ।

पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला सुकेर झर्न थालेको छ ।

तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् । हिउँदे वर्षा नहुँदा बाली र फलफूल खेतीमा असर परेको सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीले बताउनुभयो ।

जमिन सुक्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ । खोला तथा नदीमा जलसतह घट्नुका साथै भूमिगत सिँचाइका लागि गाडिएका कलका पानी पनि सुक्न थालेको सर्लाहीको लालबन्दी–१७ का होमप्रसाद सापकोटाले बताउनुभयो ।

सिँचाइका लागि गाडिएका ट्युवेल, बोरिङ सुक्न थालेको वाग्मती नगरपालिका– ३ का किसान चिरण खरेलले बताउनुभयो ।

‘फलफूल र तरकारी खेती गर्न भनेर गाडेको ट्युबवेलमा पानी आउन छाडेको धेरै दिन भयो, जमिन मुनि गाडिएका धेरै चापाकल र टुयुबेल धमाधम सुक्न थालेपछि सिँचाइ गर्न गाह्रो भएको छ,’ उहाँले भन्नुभयो ।

लामो समयसम्म पानी नपर्दा चुरे भेगका जंगल सुक्खा भएर  घाँस  नपलाउँदा पशुपालन गर्न समेत मुस्किल परेको लालबन्दी–१६ का शम्भुप्रसाद अधिकारीको भनाइ  छ ।