ठोरीमा कुम्भ स्नान समापन

पर्सा जिल्लाको प्रसिद्ध धार्मिकस्थल रामभौरीभाथास्थित दुग्धेश्वर महादेव परिसरमा साउन १० गतेदेखि लागिरहेको महाकुम्भको अन्तिम शाही स्नान ठोरी गाउँपालिकास्थित सीताकुण्डमा स्नान गरी समापन भएको छ ।

भतौडाधाममा कुम्भ स्तम्भ निर्माण गरी महाकुम्भको आयोजना गरेको आयोजक समितिका प्रमुख भतौडाधामका मठाधीश श्री श्री १०८ धर्मेन्द्र दास “निर्मोही“ बाबाले सङ्कल्प उठाइ महाकुम्भको आयोजना गरेका थिए ।

ठोरी पनि धार्मिक क्षेत्र मानिएको कारण सीताकुण्डमा अन्तिम शाही स्नानको आयोजना गरिएको धर्मेन्द्र दास बाबाले बताए ।

रथ लिएर ठोरी आएका सन्त, महन्तहरूलाई ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, वडाध्यक्ष अमृतकृष्ण सापकोटालगायत जनप्रतिनिधिहरू र ठोरीवासीले रथयात्रीहरूलाई स्वागत गरेका थिए ।

स्वागतपश्चात् सीतागुफा परिसरमा रहेको सीताकुण्डमा अन्तिम शाही स्नान गरी कुम्भको समापन भएको र पूर्णाहुति भोलि बिहीवार ठोरीमा रहेको वनशक्ति मन्दिरमा गरिने धर्मेन्द्र दास बाबाले जानकारी दिए ।

Share your love