टाइगर कप महिला भलिबलमा गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरी एपीएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको खेलको पहिलो सेट एपीएफले २५–१३ ले, दोस्रो सेटमा २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको हो । अब एपीएफले उपाधिका लागि आर्मी र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको विजेतासँग खेल्नेछ ।

गएको आइतवारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता छ । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।