जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताउनुभएको छ ।

विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ । साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ ।

यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताउनुभएको छ । सिन्ह्वा

Share your love