जलेकाे अवस्थामा एक जनाकाे शव फेला

दैलेखकाे भैरवी गाउँपालिका वडा नं. ४ लिउडामा घरभित्रै जलेकाे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गए राति भएको आगलागीको विस्तृत विवरण तयार गर्न गएको बेला घरधनी ४५ वर्षीय नरेक विककाे शव जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएकाे थियाे । आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।

घरको भित्रपट्टिको कोठामा कम्मरमुनिको भाग ढुङ्गाले च्यापिएको र माथिको शरीर पहिचान गर्न मुस्किल पर्ने गरी जलेकाे अवस्थामा फेला परेको छ ।