जबरासँग आज दोस्रो दिन पनि बयान सुरु

महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ ।महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ ।
आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो ।

हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाउनुभएको थियो ।  ७ महिनादेखि निलम्बनको अवस्थामा रहेका उहाँमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो । महाअभियोग समितिको गएको भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।

पदीय जिम्मेवारीविपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेकोलगायतका आरोपसहित गएको फागुन १ गते जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

Share your love