
जनतालाई दिईएको बचन अवश्य पुरा गर्छु : डा. मधु
उनले जारी गरेको प्रतिवद्धता पत्रमा पर्साका बासिन्दालाई सार्वजनिक सेवामा सहजताका लागि पर्साको पोखरियामा जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा केन्द्र खोलिने, शिक्षालाई समृद्धिको सूत्राधार मानिएको प्रतिबद्धतामा शिक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गरिने भनिएको छ । शिक्षामा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाइने र कन्या विद्यालयको स्थापना गरिने प्रतिवद्धता डा. गुप्ताले गरेकी छन् ।
सामुदायिक विद्यालयको स्तारोन्नति, र दरबन्दीअनुसार शिक्षक तथा कर्मचारी आपूर्ति गरिने र उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको नीतिगत प्रबन्ध मिलाइने पनि उल्लेख छ । उच्च शिक्षा अध्ययनका लागि पूर्वाधार तयार गरिने गुप्ताले मतदाताका विच प्रतिवद्धता गरेकी छन ।
स्वास्थ्य र सरसफाईलाई प्राथमिकतामा राखिएको छ । पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गरिने, उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार जनशक्ति र औषधी उपलब्धता, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा सहुलियतलाई स्वास्थ्यका आधारको रुपमा अघि सारिएको छ । सहज र सुलभ स्वास्थ्यको ग्यारेन्टी गर्न स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने नीतिको प्रबन्ध गरिने भएको छ ।
स्वास्थ्यको पूरक मानिएको सरफाई र ढल निकासको गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइने र विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोगको योजना ल्याउने प्रतिबद्धता गुप्ताको छ ।
प्रतिवद्धता पत्रमा ‘कृषिको आधुनिकीकरण, आयको मुख्य आधार’ लाई नाराको रुपमा अघि सारिएको छ । आधुनिक कृषिका लागि मलखाद, बीउ र सिंचाईलाई प्रभावकारी बनाउने भनिएको छ ।
कृषिको व्यावसायीकरण, कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहन, ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्र बनाइने, अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनजस्ता एजेण्डा पनि चुनावी प्रतिवद्धतामा समेटिएका छन् ।
प्रतिवद्धतामा भोजपुरी भाषाको प्रवद्र्धन नीति, क्षेत्रका मठ, मन्दिर र मस्जिदलाई व्यवस्थित तुल्याउनेदेखि पोखरीहरूलाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने योजना राखिएको छ । युवा, रोजगारी र खेलकुदतर्फ युवा जनशक्तिलाई सीपमूलक तालीम र रोजगारीको अवसर, उद्योग र व्यापारको प्रवद्र्धनमार्फत रोजगारी र आयको सृजना, रोजगारीमूलक उद्योगलाई प्रवद्र्धन गरिने भनिएको छ ।
महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन नीति नियम बनाउने र भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनका लागि सशक्त पहललाई पनि प्राथमिकतामा राखिएको छ । विभिन्न खेलकुद प्रतियोगिता र पूर्वाधार निर्माणलाई पनि प्रतिवद्धताले प्राथमिकतामा राखेको छ ।