जनकपुरधाममा आज जानकी नवमीको रौनक

जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ। आदर्श नारी सीताको जन्मदिन पारेर मिथिलामा धार्मिक मान्याता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ।

जानकी नवमीको अवशरमा मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ। यद्यपि, आज शनिबार जानकी नवमी पर्व परेको छ। जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ। आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिर स्रोतले जनाएको छ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर पुगेका छन्।