चिनियाँ अभ्यासको प्रतिक्रियामा ताइवानले पनि गर्‍याे सैनिक अभ्यास

ताइवान आफ्नै देशको भूमि भन्दै चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । चीनको अभ्यासको जवाफमा ताइवानले पनि आज बिहीवार लाइभ अभ्यास गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ताइवानले युद्ध भएमा आफू तयार रहेको सन्देश दिन आज अभ्यास गरेको खबरमा उल्लेख छ । ताइवानको आठौँ आर्मी ब्याचका प्रवक्ता लोउ वोइ जेले आज रक्षात्मक अभ्यासको रूपमा पिङतुङ क्षेत्रमा अभ्यास गरिएको बताएका छन् । ताइवानले वास्तविक हतियार नै चलाएर अभ्यास गरेको थियो । तर ताइवानका एक सैनिक अधिकारीले भने आजको अभ्यास चीन लक्षित नभइ तोपखानको उचित व्यवस्थापन र मर्मत अवस्था जाँच्नका लागि भएको बताएका छन् ।

चीनले ताइवान आफ्नै भूमि भएको भन्दै हिजो बुधवार एक श्वेत पत्र प्रकाशन गरेको छ । ताइवानलाई स्वतन्त्र राज्यको दर्जा दिन खोज्नेहरू नष्ट हुने पनि चीनको चेतावनी  छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राज्य दाबी गर्दै आएको छ ।

Share your love