चितवनमा साउन महिनामा सवारी दुर्घटनाबाट नौ जनाको मृत्यु, ७७ घाइते 

चितवनमा एक महिनामा सवारी दुर्घटनाबाट ९ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आव २०७९÷८० को साउन महिनामा पूर्व पश्चिम लोकमार्गमा एक जनाको मृत्यु, १७ जना घाइते,  नारायणगढ मुग्लिन सडक खण्डमा तीन जनाको मृत्यु, १० जना घाइते, पृथ्वीराजमार्गमा एक जनाको मृत्यु २० जना घाइते,, शहरीखण्डमा एक जनाको मृत्यु तीन घाइते, अन्य भित्री सडकमा तीन जनाको मृत्यु २७ जना घाइते भएका हुन् । उक्त दुर्घटनामा ७७ वटा सवारी संलग्न थिए ।

कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले सवारीको सङ्ख्या बढेसँगै दुर्घटनाबाट मानवीय क्षति र भौतिक क्षति कम हुन नसकेको बताउनुभयो ।

“गत असारमा पनि यही हाराहारीमा दुर्घटना भएको थियो अहिले पनि उही अनुपातमा छ”, उहाँले भन्नुभयो “तर हामीले यसको न्यूनीकरणका लागि सचेतनाको कार्यक्रमलाई भने तीव्र पार्दै गएका छौँ ।” अन्य मौसममा भन्दा बढी वर्षामा सवारी दुर्घटना बढी हुने गरेको पनि उहाँले बताउनुभयो ।

“सवारी दुर्घटना एउटै विषयले मात्र बढ्दैन” उहाँले भन्नुभयो, “सडकको अवस्था, सवारी चालकको लापरवाही, यान्त्रिक गढबढी इत्यादि ” ८० प्रतिशतभन्दा बढी मानवीय लापरवाहीका कारण दुर्घटना र क्षति हुने गरेको उहाँको भनाई छ ।

Share your love