चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा दुई मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ। भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको हो। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए।
नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।
यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्। त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन्। यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो।