मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा समाजवादको नेपाली मार्गचित्र विषयमा विचार गोष्ठी आयोजना गर्यो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका नेता घनश्याम भुसाललगायतका नेताहरू आमन्त्रित थिए ।
सामान्यतः विचार गोष्ठीमा आमन्त्रित सबै नेताहरूले एकले अर्कालाई सुन्ने र बहसमा सहभागी हुने अभ्यास हुन्छ । तर नेपालमा नेताहरू आफ्नो अनुकूलतामा आउने, बोल्ने र हिंडिहाल्ने अभ्यास देखिन्छ ।
मञ्चबाट बोलिरहेका भूसालले व्यङ्ग्य गर्दै प्रचण्डलाई स्वागत गर्दै भने, ‘चुनावको बेलाका नेता सोह्रश्राद्धका पुरेत जस्तै हुन्छन् । मैले अघि पनि यही भनें । प्रचण्डजीलाई कार्यक्रममा स्वागत छ …’ हलमा ताली र हाँसो एकसाथ गुञ्जियो ।