यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिने भएको छ ।
वीरगञ्जमा सोमबार बसेको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको हो । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पनि छिन् ।
वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।
गतवर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापालगायतले यो पुरस्कार पाइसकेका छन् ।