महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले एकल महिलाको स्वतन्त्र पहिचान स्वीकार गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । एकल महिलालाई आफ्नो सन्तानको पहिचान आफ्नो नामबाट स्थापित गर्नबाट वञ्चित गरिनु सबै नागरिक समान हुन् भन्ने लोकतन्त्रको मान्यता विपरीत रहेको सञ्जालले ठहर गरेको हो ।
नेपाल सरकार गृह मन्त्रालयद्वारा गत चैत्र २२ जारी गरिएको ‘एकल महिलाबाट जन्मेको पितृत्वको ठेगाना नभएको बच्चाको जन्म दर्ता सम्बन्धी” सूचनामा आमाको भन्दा बाबुको पहिचानलाई प्राथमिकता दिई महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा प्रस्तुत गरिएको सञ्जालको भनाई छ । उक्त सूचनामा उल्लेख भएको पितृत्वको ठेगान नभएको बच्चा भन्ने वाक्यांशको संशोधन, मावलको थर भन्ने शब्दको सट्टामा आमाको थर भनी व्यवस्था गर्ने, बुवाको ठेगाना पत्ता लागे पश्चात अगाडि दर्ता भएको जन्म दर्ताको प्रमाणपत्र रद्द गरी बुवाको ठेगानाबाट जारी गरिदिने भन्ने व्यवस्थाको परिवर्तन गरी संविधानतः सुनिश्चित भएको अधिकारहरूको प्रत्याभूतिका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।