गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संंरक्षण गरेको भन्दै नेविसंघ पर्साले माग्यो राजिनामा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा मागेको छ ।बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघ पर्साले गृहमन्त्री श्रेष्ठको राजिनामा मागेको हो ।

काठमाडौंमा बुधबार दिनदहाडै कांग्रेसका सहमहाममन्त्री महेन्द्र यादवमाथि खुकरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकोले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजिनामा दिनुपर्ने माग नेविसंघको छ ।

नेविसंघ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करहरुलाई संरक्षण गरेको , श्रेष्ठको कार्यकालमा लोकतन्त्रका लागि लडेका नेताहरुको ज्यानै लिने गरि आक्रमण भइरहेको , मुलुकमा शान्ति–सुरक्षा र अमयन चयन कायम गर्न श्रेष्ठ असफल भएकाले नैतिकताका आधारमा श्रेष्ठले गृहमन्त्रीबाट राजिनामा गर्नुपर्ने उल्लेख छ ।

साथै यादवमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नपनि नेविसंघले माग गरेको छ ।यदि आफुहरुको माग सम्बोधन नगरिएवर्तमान सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत नेविसंघले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेविसंघ पर्साका सभापति यादवसंगै कांग्रेसका क्षेत्रिय सभापती महम्मद सहबुदिन, नेविसंघका केन्द्रिय सदस्य मुनराज तिवारी , युवा नेता दिलिपराज कार्की, नेविसंघका जिल्ला सचिव फिरोज अन्सारी लगायतकोपनि सहभागीता थियो । – मधेश खबरबाट