गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ। गएकाे चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । तर अधिकारीले विश्वासको मत नपाउने निश्चित छ । अधिकारीको पक्षमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्रै छन् । माओवादीका ८ जना संसदले समर्थन फिर्ता लिए पछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । अधिकारी पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । अधिकारीले विश्वासको मत नपाएमा केन्द्र सरकार जस्तै गण्डकीमा पनि नेपाली कांग्रेस, माओवादी मिलेर सरकार बनाउने छन् ।