‘गठबन्धन दलमा आबद्धताकै कारण मेयर सिंहको नागरिकता प्रकरण छानबिनको दायरामा आउन सकेन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्धता रहेकै कारण वीरगन्जको चर्चित किर्ते नागरिकता प्रकरणले मूर्तरूप लिन नसकिरहेको जिकिर गरेका छन् । वीरगन्जका मेयर राजेशमान सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आश्चर्य व्यक्त गरेका हुन्।

वीरगन्जबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेको घटनाक्रमले देखाइरहेको बताए । ‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति कहाँ पुग्छ ? तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ, पदमा छ । त्यो राजनीतिक दल अहिले गठबन्धनको दलको बैठकमा बस्ने हैसियत राख्छ भने उसले त्यही कारणले २ वटा नागरिकता बनाउने छुट पाएको छ, कोहीले जेलबाट छुट पाएको छ ।’

‘यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री थापाले प्रश्न गरे, ‘राज्यका लागि त सबै बराबर हुन्छन् नि । त्यसकारण राज्यले जब यस्तो सवालमा गलत गर्छ, त्यसमा प्रश्न गर्ने मिडियाको काम हो । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा, मलाई सञ्चारमाध्यमले छोड्दैनन् । यो डर हुनुपर्छ, यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।’

राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने जरुरी रहेको उनको भनाई छ । महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी ग¥यो भने देशमा व्यापक परिवर्तन उनको ठहर थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मिडिया स्वतन्त्र नभएको जिकिर गरेका थिए । मिडिया कुनै दलको हुनुपर्छ भन्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले सुझाव दिएका थिए ।  २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सांसद अजय चौरसियासहित वरिष्ठ पत्रकार हरिहर विरही, कबीर राणालगायतले आफ्नो देशको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए । -रातो पाटि