
गठबन्धन जिते टिकट नपाएकाहरुलाई अवसरै अवसर छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले बहुमत ल्याए नेता तथा कार्यकर्ताहरुका लागि अवसर नै अवसर रहेको बताएका छन् ।
जनकपुरधाममा शनिवार पाँच दलीय गठबन्धनको प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले निर्वाचनमा टिकट नपाएकाहरुलाई असन्तुष्ट नहुन भन्दै गठबन्धनले बहुमत ल्याए उनीहरुका लागि धेरै अवसर रहेको बताए।
‘गठबन्धनले बहुमत ल्याउनुपर्छ, यो संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रको निम्ति यो अनिवार्य हो । यस्तै बहुमत ल्याएपछि हामीसँग अवसर नै अवसर हुनेवाला छ’, प्रचण्डले अगाडि भने, ‘अहिले चुनाव लड्न नपाएका, टिकट नपाएकामध्ये कयौँ साथी ठुल्ठूला राजनीतिक नियुक्तिमा जान सक्नुहुन्छ।
कैयौँ राजदूत बन्न सक्नुहुन्छ, संवैधानिक नियुक्ति हुन सक्छ । राष्ट्रियसभामा जान सक्नुहुन्छ । यो नै अन्तिम हो । आकाशबाट झर्याे, धर्ती फाट्योजस्तो भनेर सोच्नुपर्ने अवाश्यकता छैन् ।’ गठबन्धन हारे मात्र धर्ती फाँडेर जाने भन्दै पाँचदलीय उम्मेदवारलाई मत दिन आग्रह गरे ।