गँहु बालीका लागि डिएपी मल वीरगन्ज आइपुग्यो

कृषि सामग्री कम्पनीको दोस्रो कन्साइन्मेन्टको डीएपी मल वीरगन्ज भित्रिएको छ । २० हजार मेट्रिक टनमध्ये २५ सय मेटन डिएपी मल वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको बताए ।

ग्लोबल टेन्डरबाट ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले जोर्डनबाट उक्त मल खरिद गरी ल्याएको हो । ‘दोस्रो कन्साइन्मेन्टमा कम्पनीले कुल २० हजार मे.टन डीएपी मल भित्र्याउन लागेको छ । त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयका लागि ८ हजार र भैरहवा प्रादेशिक कार्यालयका लागि ७ हजार मे.टन गरी १५ हजार मे.टन डीएपी रेलबाटै सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ,’ उनले भने, ‘बाँकी रहेको ५ हजार मे.टन डीएपी विराटनगर प्रादेशिक कार्यालयका लागि कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा ढुवानी गरी ल्याइँदै छ ।’

स्विस सिंगापुरले ग्लोबल टेन्डरबाट ४० हजार मे.टन डीएपी मल आपूर्तिको २ वटा ठेक्का पाएकामा पहिलो कन्साइन्मेन्टमा २० हजार मे.टन ल्याइसकेको छ । त्यसमध्ये १५ हजार मे.टन वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमै आएको थियो । ५ हजार मे.टन कोलकाताबाट विराटनगर ल्याइएको थियो । त्यतिबेला पनि वीरगन्ज आएको १५ हजार मे.टनमध्ये ८ हजार मे.टन वीरगन्ज, ७ हजार मे.टन भैरहवा प्रादेशिक कार्यालयले पाएका थिए ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले मधेस, वाग्मती र गण्डकी प्रदेशका १६ जिल्लामा मल परिचालन गर्दै आएको छ । हाल किसानबाट डीएपी मलको माग नआएकाले भण्डारण गरिने कुमारले जानकारी दिए ।साभार: कान्तिपुर

Share your love