केन्याको राजधानीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा ३ जनाको ज्यान गयाे, ३ सय जना घाइते

केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ । विस्फोटमा झन्डै तीन सय जना घाइते भएका सरकारका उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घाइतेहरूलाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले जानकारी दिनुभएको छ । घटना रातिको समयमा भएको र धेरै बासिन्दा घरभित्रै रहेकाले ज्यान गुमाउनको सङ्ख्या बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

विस्फोटपछि भएको आगलागीका कारण धैरै घर र गाडी जलेका छन् । घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

यसअघि सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परि १५ जनाको ज्यान गएको थियो भने ७० जना घाइते भएका थिए ।