जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरूले उठाएको किसानका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको छ ।
आज साेमवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानका मुद्दा उठाएर आएकाले ती मुद्दा सम्बोधन हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको हो ।
राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले ती मुद्दा सम्बोधन हुनुपर्छ । त्यसका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जाहेर हुनुपर्याे ।’
अध्यक्ष राउतले वर्तमान सत्तारूढ गठबन्धनप्रति आफूहरू सकारात्मक रहेको बताउँदै इमानदारितापूर्वक प्रतिबद्धता जाहेर हुनुपर्ने बताउनुभयाे ।