काठमाण्डाै महानगरले अभियन्ता ‘ईः’ सँग तत्काल वार्ता गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले लाेकतन्त्रमा आन्दाेलनरत सबैका आवाज सुन्नुपर्ने बताउनुभएकाे छ ।

काठमाण्डाै महानगरमा फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले गरिरहेकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाउँदै महामन्त्री थापाले शान्तिपूर्णरूपमा उठाइएका विषयलाई महानगरले महत्त्वका साथ सुन्नुपर्ने बताउनुभएकाे हाे । उहाँले सहरकाे अन्य आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेकाे बताउनुभएकाे छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्णरूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ । ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ‘Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि, एकअर्काको मत–दृष्टिकोण सुनेपछि/बुझेपछि एउटा उपाय निस्कन्छ नै ।

महामन्त्री थापाले काठमाण्डाै महानगरले सामाजिक अभियन्ता ईः सँग तत्काल वार्ता गर्नुपर्ने पनि बताउनुभएकाे छ । उहाँले अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको पनि बताउनुभएकाे छ ।