काठमाडौंबाट गरिबी लखेट्ने हो, गरिब होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध भइरहेका बेला ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लेखेट्नुपर्छ, गरिब होइन ।’

उनले फुटपाथ व्यवसायीको पक्षमा आन्दोलनरत् अभियन्ता ईः र महानगरका मेयर/उपमेयरलाई लक्षित गर्दै ओलीले युवा भएकाले समाधानको उपाय निकाल्न भनेका छन् ।

फुटपाथको व्यापार काठमाडौंको इतिहास र पम्परागत नेवारी संस्कृतिको अंश भएको भन्दै ओलीले एक्कासी परिवर्तन गर्न खोज्दा खलबली हुनु स्वाभाविक भनेका छन् ।

‘फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन,’ ओलीले भनेका छन्, ‘कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो ।’

ओलीले थप लेखेका छन्, ‘असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ । परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक र वैज्ञानिक हो ।’