नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अघिल्लो महिना फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ग्यास लिक हुँदा भएको आगलागीमा परि गम्भीर घाइते भएका भण्डारीको भारतमा उपचार भैरहेको छ ।
मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उहाँ निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, ग्राफ्टिङ छालाले राम्रो काम गरिरहेको छ । भण्डारीलाई दिनमा तीन–चार पटक हल्का हिँडाउने पनि गरिएको छ ।