नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आउँदाे वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र ठाउँ केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
हिजाे साेमवारदेखि संघीय संसद् भवनमा सुरु भएकाे पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आउँदाे वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताउनु भयो ।
उहाँले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने प्राय सांसदहरुले माग राखेको बताउनु भयो । उहाँका अनुसार महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् ।
बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको पनि प्रमुख सचेतक लेखकले बताउनु भयो ।
त्यस्तै नेपाली कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताउनु भयो ।
सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भए पनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले देशमै रोजागारी सिर्जना गर्न, देशको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताउनु भयो ।