अध्यक्ष तिमिल्सिनाले अबको चुनावमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पार्टीका नेता, कार्यकर्ता कहिले पुराना नेताहरूको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना गरिरहेका छन् । अब दलहरूले क्षमता, योग्यता हेरेर प्रतिनिधि अघि बढाउनुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरूको आवाज बनेर सङ्घीयता आउनुपर्ने बताउनुभयो । देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने उहाँको भनाइ थियो । उहाँले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरू पनि सङ्घबाटै आइरहेको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना सङ्घीय सरकार मातहत हुँदा सङ्घीय सरकारमा केही बजेट बढी हुने कुरालाई स्वाभाविक रूपमा हेर्नुपर्ने बताउनुभयो । राष्ट्रियस्तर, प्रदेशस्तर र स्थानीयस्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष तिमिल्सनाले जनसङ्ख्या, भूगोल र बजेटको आधारमा योजनाहरू छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजना, जनसङ्ख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । करोड रुपैयाँभन्दा तलका योजना प्रदेशले पालिकालाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने उहाँको सुझाव छ ।