गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।
कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।