कञ्चनपुरमा महिलालाई आक्रमण गरी बेपत्ता बनाएको पाटेबाघ समातियो

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक महिलालाई आक्रमण गरी बेपत्ता बनाएको पाटेबाघलाई समातिएको छ ।

बाघको आक्रमणबाट हिजो बेलौरी–८ पचुँइकी गङ्गादेवी चन्द बेपत्ता हुनुभएको छ । प्राविधिक टोलीले झण्डै २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । बेपत्ता महिलाको खोजी भइरहेको छ ।

चन्दसहित स्थानीय महिला हिजो दिउँसो घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । घटनाबारे स्थानीयले प्रहरीमा खबर गरेपछि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली खटिएको थियो । टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर बाघ नियन्त्रणमा लिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिनुभयो । केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो ।