राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भनेका छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाएका छन् ।
‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो’ केसीले भनेका छन् ।
कोशी प्रदेशको नामकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ ।