एसीसी मेन्स प्रिमियर कपमा ओमानले विजयी सुरुवात गरेकाे छ । आज बुधवार भएकाे खेलमा ओमानले कतारलाई ४० रनले हरायाे ।
ओमानले दिएकाे २ सय ५० रनकाे लक्ष्य पछ्याएकाे कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा अलआउट भयाे । कतारका लागि कप्तान माेहम्मद रिजलानले ४३ र खुरम शहजादले ३० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ४ विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायाे । ओमानका लागि आयान खानले नटआउट ६४, जेशान मकसूदले ४१ र सन्दीप गाैदले ३४ रन बनाए । बलिङतर्फ कतारका मुहम्मद मुराद र आमिर फरुकले ३/३ विकेट लिए ।
याे जितसँगै समूह ‘ए’ मा रहेकाे ओमानले महत्त्वपूर्ण २ अङ्क जाेडेकाे छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । हिजाे मङ्गलवारदेखि सुरु भएकाे प्रतियोगिता आउँदाे १८ गतेसम्म हुनेछ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।