एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दै

१९औँ एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दैछन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो ।  कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।

त्यस्तै, समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुगेको हङकङले पाकिस्तानसँग खेल्दैछ । यो खेल आज बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको मलेसिया र बङ्लादेश तथा सिधै क्वाटरफाइनलमा पुगेका श्रीलङ्का र अफगानिस्तानबीच भोलि खेल हुनेछ ।