नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनाव नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रमस्वरूप नै आज बिहीवार रास्वपा सभापति लामिछानेसँग भेट गरेकाे हाे ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति चुनावमा आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताउनुभयो । उहाँले यस बेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजान सक्ने व्यक्ति नेम्वाङ नै रहेको जिकिर पनि गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘संविधान सभा अध्यक्षको रूपमा र सभामुखको रूपमा सफल भूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ । राष्ट्रिय सहमति जसरी देशले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे देशले कम नै पाउँछ र यो एउटा मौका हो भन्ने कुरा गर्नुभयो ।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शङ्का छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा याे कुरा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० गतेकाे सहमतिको हामी साक्षात् छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’
राष्ट्रपति चुनाव नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त छन् ।