
‘एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ’
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका तत्कालीन अध्यक्ष रतन थापाले बाध्य भएर पार्टी छोड्नु परेको बताएका छन् । बिहीबार काठमाडौँमा उन्मुक्ति पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश सभाका सांसदसमेत रहेका थापाले आफूले पार्टी छोड्नुपर्ला भन्ने नसोचेको बताए ।
एमाले बास्तविक श्रमजीवीको पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भएको उनले टिप्पणी गरे । ‘एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ । करोडका गाडीमा नेतालाई बोक्यो भने एमालेको नेता बन्छ,’ उनले भने, ‘हजारसँग पाँच हजार रुपैयाँ उठाउन थाल्यो ।
सर्वहाराले पाँच हजार तिर्न सक्छन् त ? उनीहरूले कहिल्यै तिर्न सक्दैनन् । यो पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भयो । मैले तीस वर्ष एमालेलाई करोडौँ दिएको छु । एक रुपैयाँ लिएको छैन । म यहाँ पनि दिन आएको हु, लिन होइन ।’