मूलपानी मैदानमा एपीएफले दिएको ११६ रनको झिनो लक्ष्य पछ्याएको गण्डकी ३१ ओभरमा ११५ रनमा समेटियो । थोरै लक्ष्य पछ्याएको गण्डकीका ब्याटरहरुको धैर्यता शुक्रबारको खेलमा देखिएन । गण्डकीका अविशेक बस्नेतले सर्बाधिक २४ रन जोडे । अर्जुन कुमालले १८ र कप्तान विपिन खत्रीले १७ रन बनाए
२८औं ओभरको चौथो बलमा कप्तान विपिन नवौं विकेटका रुपमा आउट हुँदा गण्डकीलाई जितका लागि १३ रन आवश्यक थियो । क्रिजमा थिए अन्तिम क्रमका ब्याटरद्वय कमल परियार र चन्द्र पौडेल । २९औं ओभरमा गण्डकीले एक रनमात्र थप्न सक्यो । ३०औं ओभरमा अमरसिंह रौटेलाको बलमा कमलको चौकासँगै गण्डकीले ७ रन थप्यो ।
३१ औं ओभरमा मौसम ढकालले बलिङ गर्न सुरु गरे । गण्डकीलाई जितका लागि ५ रन आवश्यक थियो । तेस्रो बलमा मौसमको बलिङमा गण्डकीले ४ रन बाई पायो । खेलमा स्कोर बराबरी गयो ।
यो बराबरी गण्डकी प्रदेशका लागि सेमिफाइनल समीकरणमा महंगो पर्न सक्छ । यसअघि सुदूरपश्चिमलाई ६९ र कर्णाली प्रदेशलाई ३२ रनले हराएको गण्डकीले ३ खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ५ अंकसहित नेट रनरेटमा पछि पार्दै एपीएफ शीर्ष स्थानमा छ ।
समूहको अन्तिम खेलमा गण्डकीले अर्को विभागीय टोली आर्मीसँग खेल्नेछ भने एपीएफले कर्णालीसँग खेल्नेछ । समूह ‘ए’अन्तर्गत आर्मीले कर्णाली र गण्डकीसँग खेल्न बाँकी छ । २ खेलबाट २ अंक जोडेको आर्मी समूहको तेस्रो स्थानमा छ ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर टस जितेर फिल्डिङ रोजेको एपीएफ ३५.१ ओभरमा ११५ मा समेटिएको थियो । ओपनरहरु आसिफ शेख र प्रदीप ऐरी सस्तैमा आउट भएपछि मध्यक्रममा चार ब्याटरले एपीएफको पारी उकासेका थिए । लोकेश बमले २२, पुरन विकले २३, सन्दीप जोराले २२ र भुवन कार्कीले अविजित २४ रन बनाए ।
गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३-३ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले २ विकेट लिए । कप्तान विपिन खत्री र चन्द्र पौडेलले समान १-१ विकेट लिए ।