झापाको दमक नगरपालिका– ८ का २५ वर्षीय सतप्रकाश साह शैक्षिक पराशर्म केन्द्र (एजुकेसन कन्सल्टेन्सी) सञ्चालन गर्छन् । तर उक्त व्यवसायबाट हुन सक्ने सम्भावित आम्दानीको तुलनामा उनको जीवनशैली अस्वाभाविक देखेपछि प्रहरीले निगरानी बढायो । त्यसै क्रममा उनीबाट ठगिएको भन्दै केही व्यक्तिले प्रहरीमा मौखिक जानकारी पनि गराए ।
उनको कोठामा २४४ वटा एनसेलको सिमकार्ड फेला पारेको प्रहरीले अनलाइन जुवा खेलाउने गरेको प्रमाण भेट्यो । ‘हाम्रो अनुमान अनलाइन ठगी गर्छ भन्ने थियो, तर कोठामा पुग्दा अनलाइन जुवा खेलाउने गरेको पाइयो’, इलाका प्रहरी कार्यालय दमकमा डीएसपी दिलिप गिरीले भने, ‘जुवाका लागि ईसेवाबाट कारोबार गर्दा रहेछन् ।’ ईसेवाको खाता (एकाउन्ट) बनाउनका लागि प्रयोग भएका २४४ वटा सिम उनको कोठामा भेटिएको हो ।
‘एजुकेसन कन्सल्टेन्सीमा आउनेको नागरिकताको फोटोकपी र फोटो राख्दा रहेछन्’, प्रहरी स्रोत भन्छ, ‘कन्सल्टेन्सीमा राखेको फोटो र नागरिकताको फोटोकपी प्रयोग गरेर एनसेलको सिम निकाल्दै ईसेवा एकाउन्ट बनाएको भेटियो ।’ साहले कागजात मिलाउन र ईसेवा एकाउन्ट बनाउन छुट्टाछुट्टै व्यक्तिलाई प्रयोग गर्थे ।
उनी अनलाइन जुवा खेलाउने वान एक्स एप्लिकेसनको टिम १ लिडर हुन् । टिम २ र टिम ३ मा दमक नगरपालिका–७ का राजु श्रेष्ठ र कमल गाउँपालिका– २ का अरुण कार्कीलाई जोडेको प्रहरीले बताएको छ । २७ वर्षीय श्रेष्ठ पदमा इन्टरनेशनलका कन्सल्टेन्सीका सञ्चालक पनि हुन् । कार्की भने योर्स कम्युनिकेसन एण्ड फोटो स्टुडियो सञ्चालन गर्छन् ।
प्रहरीका अनुसार कन्सटेन्सीमा आएका सेवाग्राहीको कागजात कार्कीले मिलाइदिएपछि पिताम्बर थापा नाम गरेका व्यक्तिले ईसेवा एकाउन्ट खोलेर आईडी र पासवर्ड साहलाई दिन्थे । साहले ईसेवा आइडी जुवा खेलाउँदा पैसा लिन र पठाउन प्रयोग गर्थे ।