सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो ।
वीरगञ्ज भन्सार मेनगेट, अलौ, छपकैया, ड्राइपोर्ट, बहुअर्वाभाठा, ठोरी, जिराभवानी लगायतका स्थानहरुबाट भन्सार छली चोरी पैठारी भइरहेका सामान बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिका– ७ छपकैयाबाट ७ किलो गाजा बरामद गरेको छ । बाँसको झाँगमा लुकाएर राखिएको अवस्थामा ७ किलो लागु औषध (गाजा) बरामद भएका र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।